दाङ- कृषि ज्ञान केन्द्रमार्फत कृषकले पाउने विभिन्न शीर्षकको अनुदान रकम कृषकले नपाई फिर्ता भएको छ । ५० प्रतिशत अनुदानमा कृषकलाई दिने गरी बजेट नै विनियोजन भएका विभिन्न कार्यक्रम नै भएनन् । २९ लाख रुपैयाँ अनुदानमा ५८ लाख रुपैयाँको माटो व्यवस्थापनको कार्यक्रम फिर्ता भएको छ भने १५ लाख अनुदानमा तयार ३० लाख रुपैयाँको मौरी स्रोतकेन्द्र स्थापनाको बजेट पनि फिर्ता भएको छ ।
त्यस्तै संघसंस्थाको साझेदारीमा ३० लाख रुपैयाँको ‘क्लाइमेट कन्ट्रोल ग्रीन हाउस’का लागि आएको १५ लाख रुपैयाँ पनि फिर्ता भएको छ । त्यतिमात्रै होइन कृषि उपज ढुवानीका लागि ३० लाखको कृषि एम्बुलेन्स खरिद कार्यक्रमको १५ लाख रुपैयाँ पनि फिर्ता भएको छ । ८० लाख रुपैयाँमा कृषिउपज भण्डार गृह तथा क्षमता विस्तार गर्ने कार्यक्रमको ४० लाख रुपैयाँ पनि फिर्ता भएको छ ।
कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले विविध कारणले अनुदानको बजेट फिर्ता भएको बताउनुभएको छ । उहाँले माटो व्यवस्थापन कार्यक्रमको समय अवधि नपुगेर साथै कार्यविधि स्पष्ट नहुँदा कार्यक्रम गर्न नसकिएको जानकारी दिनुभयो । समय अवधि नपुगेर मौरी स्रोतकेन्द्र स्थापना र समय नपुगेर र समयमै सम्झौता नहुँदा ‘क्लाइमेट कन्ट्रोल ग्रीन हाउस’ को बजेट फिर्ता भएको उहाँले बताउनुभयो । त्यस्तै कृषि एम्बुलेन्स खरिदको लागि मन्त्रालयबाट अनुमति नआउँदा फिर्ता भएको छ । कृषिउपज भण्डार गृह तथा क्षमता विस्तार गर्ने कार्यक्रमको भने कार्यक्रम शीर्षक र कार्यविधिको शीर्षक नमिलेर संशोधनका लागि मन्त्रालयमा पठाए पनि सहमति नआएकोले फिर्ता भएको लामिछानेले बताउनुभयो । ‘कतिपय समय अभावमा र कतिपय कार्यविधि नमिलेर बजेट कार्यान्वयन नभएको हो’– उहाँले भन्नुभयो– ‘बजेट कटौतीको मारमा कतिपय अनुदानका कार्यक्रम पनि परेका छन् ।’ उहाँका अनुसार रकमान्तरमा कडाइ हुँदा पनि बजेट खर्च कम भएको देखिएको छ ।
आधा पनि भएन खर्च
यता कृषि ज्ञान केन्द्रको कृषि र किसानसँग सम्बन्धित बजेट आधा पनि खर्च नभएको पाइएको छ । केन्द्रले उपलब्ध गराएको विवरण अनुसार आइतबारसम्म चार करोड ३२ लाख ६३ हजारमा एक करोड ८७ लाख २० हजार मात्रै खर्च भएको देखिएको छ । जसमा सबैभन्दा कम खर्च कृषि तथा पशुपंक्षीजन्य उद्योग, यन्त्र तथा पूर्वाधार विकास कार्यक्रम (चालु) तर्फ भएको देखिएको छ । उक्त शीर्षकमा ९४ लाख ५६ हजारमा आठ लाख ८३ हजार रुपैयाँ मात्रै खर्च भएको छ । संघको सशर्त अनुदानको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सबैभन्दा धेरै खर्च भएको कार्यालयले जानकारी दिएको छ । जसमा ३७ लाख ५० हजार बजेटमा ३५ लाख सात हजार खर्च भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्षको स्मार्ट कृषि गाउँ कार्यक्रममा ३१ लाख ९० हजार रुपैयाँ बजेटमा २० लाख ९६ हजार खर्च भएको छ । कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमको दुई करोड १९ लाख २८ हजार बजेटमा एक करोड दुई लाख ७५ हजार रुपैयाँ मात्रै खर्च भएको छ ।
कृषि ज्ञान केन्द्रमार्फत कृषकले पाउने विभिन्न शीर्षकको अनुदान रकम कृषकले नपाउनुमा समय अवधि नपुग्नु, कार्यविधि स्पष्ट नहुनुलगायतका कारण बताइएको छ । तल्लो तहका किसानमैत्री अनुदान नहुँदा व्यवसायीलाई दिने अनुदानको विरोधसमेत हुँदै आएको छ । अनुदान पाउने विभिन्न प्रक्रिया छन् भने कार्यक्रमबारे जानकारी नै नभएर अनुदान नपाउने किसान पनि प्रशस्त छन् । कृषि ज्ञान केन्द्रले कृषकलाई दिने अनुदान किसानसम्म नपुगेको पाइएको छ । कार्यालयसम्म पहुँच नभएर, झन्झटिलो प्रक्रिया, भौगोलिक विकटता, अशिक्षा तथा अनुदानका बारेमा जानकारी नपाएर पनि किसानहरू अनुदान पाउनबाट बञ्चित भएका छन् ।
फर्म दर्ता नभएका किसानले नपाउने भएकोले पनि गाउँमा खेती किसानी गर्नेहरु अनुदानबाट बञ्चित छन् । कार्यालयले जारी गर्ने सूचना थाहा नपाउने, पाए पनि निवेदन दिन नसक्नेसम्मका किसान भएको जिल्लाका विकट गाउँका कृषकहरू अनुदानबाट बञ्चित भइरहेका छन् भने व्यावसायिकरुपमा फर्म दर्ता गर्नेले पटकै पिच्छे विभिन्न निकायबाट अनुदान पाइरहेको देखिन्छ । नयँयुगबोधबाट