काठमाडौं :कोरोनाभाइरसको दोस्रो लहर आएपछि अस्पतालमा बिरामीको खुट्टा राख्ने ठाउँपनि छैन । नेपाल र भारत दुबैको स्थिति लगभग उस्तै नै छ । यद्यपि, भारतीय स्वास्थ्य अधिकारीले ८० प्रतिशतभन्दा बढी बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।
उनीहरुका अनुसार ती बिरामी घरमा नै टेलिकन्सल्टेशनको सहायताले नै निको हुनसक्छन् । तर यो पनि साँचो हो कि यो संक्रमणको साइड इफेक्ट लामो समयसमम शरीरमा रहन सक्छ र अब त मुटु पनि खराब हुन थालेको घटना देखिन थालेका छन् ।
अक्सफोर्ड जर्नलद्वारा आयोजित एक पछिल्लो शोधका पत्ता लागेअनुसार कोभिड–१९ द्वारा गम्भीर रुपमा पीडित करिब ९० प्रतिशत अस्पतालमा भर्ना भएका बिरामीको निको भएपछि मुटुमा क्षती पुगेको छ । त्यसैले संक्रमणबाट निको भएका बिरामीले हृदयगती परीक्षण गरिरहनुपर्छ । यसलाई नजरअन्दाज गर्दा पनि बिरामीको ज्यानलाई खतरा हुनसक्छ ।
विशेषज्ञका अनुसार कोभिड–१९ को संक्रमणले शरीरमा इन्फ्लेमेशन (सुन्निने) ट्रिगर गर्ने गर्छ जसका कारण मुटुका मांसपेशी कमजोर हुन थाल्छन् । यसले मुटुको गति प्रभावित हुन्छ र रगत जम्ने समस्या असामान्य रुपमा उत्पन्न हुन थाल्छ ।
यस्तै, भाइरसले सिधा हाम्रो रिसेप्टर सेल्समा हमला गर्ने गर्छ जसलाई ...... रिसेप्टर्सको रुपमा पनि चिनिन्छ । यो मायोकार्डियम टिश्यू भित्र गएर पनि त्यसलाई क्षती पुर्याउन सक्छ । मायोकार्डाइटिस जस्ता समस्या जसले मुटुका मांसपेशीको इन्फ्लेमेशन गराउँछ, यदि समय हुँदा नै यसको हेरविचार नगरिएको खण्डमा एक समयपछि हार्ट फेलियर हुनसक्छ । यसले पहिलेदेखि नै मुटुको समस्या झेलिरहेका मानिसहरुको समस्या बढाउन सक्छ ।
कहिले हुन्छ हार्ट फेलः
कुनै व्यक्तिको हार्ट फेल त्यतिबेला हुन्छ जब कसैको मुटुको मांसपेशीले रगतलाई त्यति कुशलताका साथ पम्प गर्न सक्दैन जति आवश्यक पर्छ । यो स्थितिमा संकुचित धमनी र उच्च रक्तचापले मुटुलाई पर्याप्त पम्पिङका लागि कमजोर बनाउने गर्छ । यो एक क्रोनिक समस्या हो जसको समयमा नै उपचार नहुँदा स्थिति बिग्रन सक्छ । सही उपचार र थेरेपीले मानिसहरुको उमेर बढाउन सक्छ ।
विज्ञको सुझाव अनुसार जसलाई कोभिड–१९ पछि छाती दुख्ने समस्या छ वा संक्रमित हुनुअघि जसलाई मुटु सम्बन्धि साधारण समस्या थियो, उनले यसको इमेजिङ गराउन आवश्यक छ । यसमार्फत् तपाईंलाई भाइरसले मुटुको मांसपेशीलाई कति क्षती पुर्याएको छ भन्ने थाहा हुन्छ । यसले हल्का लक्षण भएका बिरामीलाई पनि मद्दत गर्छ ।
थुप्रै बिरामीलाई भाइरल रोगपछि क्रोनिक ‘हार्ट मसल विकनेस’, कार्डिएक एनलार्जमेन्ट र लो हार्ट इजेक्सन फ्रेक्शनको समस्या हुने गर्छ । यसलाई डाइलेटेड कार्डियोमायोप्याथी पनि भनिन्छ । कोभिड संक्रमणपछि कार्डियोमायोप्याथी बढी खतरनाक हुनसक्छ र हार्ट फेलियर पनि बढाउन सक्छ ।
फार्टिस अस्पतालका अध्यक्ष डा. अशोक सेठले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा यो भाइरसले मानिसहरुको मुटलाई पनि हानी पुर्याइरहेको छ । यसले मुटुमा रगत जम्ने समस्या बढाउन सक्छ । अर्थात्, मुटुमा रगतको ढिक्का जम्न सक्छन् । यो रगतको ढिक्का फोक्सो र धमनीमा पनि जम्न सक्छ । यस्तो हुँदा बिरामीमा हृदयघातको सम्भावना पनि निकै बढ्ने गर्छ ।
डा. सेठका अनुसार कोरोनाका कारण मुटुका मांसपेशी कमजोर पर्ने गर्छ । मुटुमा इन्फ्लेमेशन बढेका कारण यस्तो हुने गर्छ । यसले हार्ट फेलियर, रक्तचापमा समस्या र धड्कनको गती छिटो वा ढिलो हुने गर्छ । फोक्सोमा रगतको ढिक्का जमेका कारण पनि मुटुको स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ । यस्तो समस्या युवामा बढी देख्न थालिएको छ ।
मेदान्तका अध्यक्ष डा. नरेश त्रेहनले पनि यस्तै भनेका थिए । उनका अनुसार कोरोनाको दोस्रो लहरमा कम आयु भएका पुरुष बढी संक्रमित भएका छन् । डा. त्रेहनले भने, ‘अघिल्लो वर्ष पनि हामीले १०–१५ प्रतिशत पोस्ट कोभिड–१९ बिरामीमा हार्ट इन्फ्लेमेशनसँग सम्बन्धित समस्या देखेका थियौं । तर यसपटक यो इन्फ्लेमेटरी रियाक्सन बढी घातक साबित भइरहेको छ । यसमा थुप्रै बिरामीको हार्ट पम्पिङ रेट २०–२५ प्रतिशतसम्म जाने गर्छ ।’
के छ उपचार ?
सुरुवाती समयमा नै उपचार पाइँदा यो नियन्त्रण गर्न सकिन्छ । हार्ट फेलियरको एडभान्स केसमा आवश्यक पर्दा लेफ्ट वेन्ट्रिकुलर असिस्ट डिभाइस (एलभीएडी) प्रोस्युजर वा थेरेपीका साथै एक हार्ट ट्रान्सप्लान्ट गर्न सकिन्छ । एलभीएडीले लेफ्ट भेन्ट्रिकुलरलाई मद्दत गर्छ जुन मुटुको सबैभन्दा प्रमुख पम्पिङ चेम्बर हो । यसलाई यो स्थितिमा एक निकै सुरक्षित विकल्प मानिन्छ ।
हार्ट फेलियरको लक्षणः
हार्ट फेल हुनु अघि बिरामीलाई सास फेर्न समस्या हुनसक्छ । यसका साथै कमजोरी र थकानको समस्या बढ्ने गर्छ । हत्केला, कुर्कुच्चा र खुट्टा सुन्निन थाल्छ । हृदय गती तीब्र र अनियमित हुनसक्छ । तपाईंको व्यायाम गर्ने क्षमता घट्न सक्छ । लगातार खोकी र फ्लूड रिटेन्सनका कारण तौल बढ्न सक्छ । भोक लाग्दैन र बारम्बार पिसाब आउँछ ।
लक्षण देखिँदा के गर्ने ?
यदि कसैमा यस्तो लक्षण देखिएको छ भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोस् । यसको उपचार आफैं गर्ने प्रयास नगर्नुहोस् । डाक्टरले नै यस्तो हार्ट फेलियरका कारण भइरहेको छ वा अन्य कुनै समस्या छ भन्नेबारे सटिक जानकारी दिनसक्छन् ।