नेपालमा हरेक दिन मिर्गौला रोगका विरामीहरु बढीरहेको पाईएको छ । आज (बिहीवार) अन्तर्राष्ट्रिय मिर्गौला दिवसको दिन चिकित्सकहरुले यस्तो बताएका हुन् । नेपालमा हरेक वर्ष तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको देखिएकाे छ ।
नियमित मिर्गौला परीक्षण गर्न पिसाबमा क्रिटिनाइनको मात्रा हेरे मात्रै पुग्ने र यो बेलाबेला जाँच गरिरहन डाक्टरको सुझाव छ । यसका लागि सरकारी अस्पतालमा एक सयदेखि एक सय ५० रुपियाँसम्म खर्च हुन्छ ।
उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य जाँच नगर्ने बानीले गर्दा मानिसको मिर्गाैलाले काम गर्न छोडेको उनिहरुको भनाइ छ ।
स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको चिकित्सकहरुले बताएका छन् ।
‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔँ’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको हो । सन् २००६ देखि हरेक वर्षको मार्च ११ मा यो दिवस मनाउन थालिएको हो ।
केही वर्ष अघिसम्म मिर्गाैला रोगको उपचार तथा प्रत्यारोपण गर्न नेपाली नागरिक भारतलगायतका देशमा जानुपर्दथ्यो । अहिले नेपालमै सरकारले प्रत्यारोपण केन्द्र खोलेर वार्षिक पाँच सयभन्दा धेरैको प्रत्यारोपण गर्दै आएको छ । केन्द्रबाहेक शिक्षण अस्पतालमा पनि प्रत्यारोपण हुने गरेको छ । वीर अस्पतालमा नियमित मिर्गाैला प्रत्यारोपण हुने गरेकोमा अहिले स्थगित भएको छ ।
नेपालमा वीर अस्पतालबाट सन् १९९८ देखि पहिलो पटक हेमोडाइलासिस सेवा सुरु भएको थियो । अस्पतालबाट सन् २००८ अगस्ट ८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो । त्यसको तीन महिनापछि वीर अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको थियो । नेपालको कुल जनसङ्ख्याको १० प्रतिशतमा कुनै न कुनै रूपमा मिर्गौला रोग लाग्ने गरेको छ ।