दाङ: आज बाट दाङमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन शुरु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १२ वर्षमाथि उमेर समूहका दीर्घ रोगीलाई फाइजर खोप लगाउन लागिएको हो । जिल्लामा यसअघि कोरोना भाइरसविरुद्धको खोप नलगाएका १२ वर्ष माथिका एक हजार नागरिकलाई खोप दिन लागेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताउनु भयो ।
यो खोप ९ प्रकारका दीर्घ रोगीहरुलाई चिकित्सकले दिएको दीर्घ रोगीको प्रमाणपत्रका आधारमा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म लगाइने उहाँले बताउनु भयो । फाइजर खोप एक हजार ‘भाइल’ मात्रै आएको उहाँको भनाई छ । जिल्लामा खोप केन्द्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तोकिएको छ । कोरोना भाइरस विरुद्धको खोप नलिएका दीर्घ रोगीहरुले चिकित्सकले दिएको प्रमाणत्रपसहित खोप लगाउन आउन उहाँले आग्रह गर्नु भयो ।
यसैबिच, बंगलाचुली गाँउपालिकामा ३० वर्ष माथिका सबै नागरिकलाई मंसिर ४, ५ र ६ गते भेरोसेलको पहिलो मात्रा खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समितीको कार्तिक २५ गते बसेको बैठकको निणर्य अनुसार बंगलाचुलीमा भेरोसेलको पहिलो मात्रा लगाईने भएको हो । खोप बंगलाचुली गाउँपालिकाको विभिन्न खोपकेन्द्रहरुबाट लगाईने छ ।