अमेरिकी विदेश मन्त्रालयले यस वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई प्रदान गर्ने भएको छ ।
सो पुरस्कार खातुनलाई दिने निर्णय गरेको नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उहाँको कार्यका लागि यो पुरस्कार दिइने पनि विज्ञप्तिमा जानकारी गराईएको छ । मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली हुनुहुन्छ भने यो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति पनि बन्नु भएको छ ।
८ मार्चमा एक भर्चुअल पुरस्कार समारोहमा अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिङ्कनको सहभागीमा यो पुरस्कार वितरण गरीने छ । १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ ।
१५ वर्ष उमेर छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि एसिड प्रहार भएको थियो । उहाँको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । लामो समय अस्पतालको पीडादायी बसाइपछि मुस्कान अहिले ठिक हुनु भएको छ । तर पनि अझै उहाँले विभिन्न समस्या भोगिरेहनु भएको छ ।