तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेती लगाउन थाल्नु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाउनु भएको हो ।
करीब ३० रोपनी क्षेत्रफलमा ४०० कागतीको बोट लगाइसकेको र ६०० बोट लगाउन ७० रोपनी क्षेत्रफलमा खाडल खन्ने काम भइरहेको उहाँले बताउनु भयो । प्रतिबोट कागती रु २१५ का दरले किनेर ल्याएर उहाँले व्यावसायिकरुपमा कागती खेती शुरु गर्नु भएको हो । उहाँले भन्नु भयो, “कागतीको माग अत्यधिक रहेकाले आफू यसतर्फ आकर्षित भएको हुँ ।”
गत साउन महिनामा कागतीको बिरुवा रोपेपछि अहिले नै फल दिन शुरु गरे पनि पहिलो वर्ष फलेको कागती टिपेर नष्ट गरिने उहाँले बताउनु भयो। पहिलो वर्षमा फल लाग्न दिँदा बोट वयस्क भइनसक्ने हुँदा पहिलो वर्षको फल टिपेर फ्याक्नुपर्छ । उहाँले भन्नु भयो , “शुरुमा कागती खेती गर्दा करीब रु १४ लाख खर्च भइसकेको छ ।”
नेपालमा उत्पादन गरिएको कागतीले एक महिना पनि नपुग्ने र भारतकै मुख ताक्नुपर्ने अवस्था भएकाले आफू यस खेतीतर्फ लागेको उहाँको भनाइ छ । अधिकारीले गाउँमा कागती खेती थालेसँगै अन्य तीन जनाले पनि कागती खेती शुरु गर्नु भएको छ । स्थानीय धनबहादुर रानाले ६००, पशुपति विष्टले ३०० र टेकबहादुर रानाले ३०० बोट कागतीका बिरुवा लगाई सक्नु भएको छ । विष्टले कृषि ज्ञान केन्द्रबाट अनुदान पाएर कागती लगाउनु भएको छ भने अन्य तीनले आफ्नै लगानीमा कागतीका बिरुवा किनेर लगाएको कृषक अधिकारी बताउनु भयो ।
आगामी वर्षदेखि फल दिन थालेपछि आम्दानीको माध्यम बन्ने कृषक धनबहादुरले बताउनु भयो । गाउँमा दुई चार जना कृषक मिलेर कागती खेती गर्दा कतिपय आफूले नजानेका कुरा पनि सिक्न सहज भएको उहाँले बताउनु भयो । रासस