ताप्लेजुङको दोभान बजारमा मंगलबार बिहानदेखि भीषण आगलागी भइरहेको छ । मेरिङदेन गाउँपालिकाको दोभान बजारमा बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको त्यहाँका स्थानियले जानकारी दिएका छन् ।
अहिलेसम्म आधाजति बजार जलिसकेको स्थानीय गोपाल खवासले जानकारी दिनुभएको छ । उहाँ अनुसार आगो भोला पौडेलको घरबाट सल्किएको थियो । पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको हुन सक्ने उहाँले जानकारी दिनु भएको छ ।
आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङ बजारबाट दमकल दोभान बजार पुगेको छ । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काइँदै छन् ।
घटनास्थलमै रहेका गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले अहिलेसम्म बजारको मुख्य क्षेत्र जलिसकेको जानकारी दिनु भयो । अध्यक्ष लिम्बुका अनुसार नजिक गएर हेर्ने अवस्था नभएकाले कति घर जले भनेर भन्न सक्ने अबस्था छैन ।
बिहानको समयमा मानिसहरू ब्युँझिसकेको र आगो लाग्नेबित्तिकै बाहिर निस्कन पाएकाले मानवीय क्षति हुनबाट जोगिएको पनि गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभएको छ ।